अन्तर्राष्ट्रियस्तरको क्यान्सर उपचार सेवा प्रदान गर्ने उद्देश्यले स्थापित ललितपुरको हरिसिद्धिमा स्थापित नेपाल क्यान्सर अस्पतालले क्यान्सर उपचारका लागि अत्याधुनिक रेडिएसन उपकरण खरीद गर्ने भएको छ । हस्पिटलले “भेरियन टु बिम–लाइनर एक्सेलेरेटर” खरिद गर्ने निर्णय गरेको हो । सो उपकरण दक्षिण एसियामै भर्खरै मात्र भित्रन थालेको हो । यसको लागत करिब २५ करोड रुपियाँ रहेको छ । यसबाट अब महँगो खर्च गरेर विदेशमा क्यान्सर उपचारका लागि जानुपर्ने समस्याबाट धेरैले मुक्ति पाउने भएका छन् ।
अस्पतालका अध्यक्ष एवं वरिष्ठ मेडिकल अंकोलोजिष्ट डा. सुदिप श्रेष्ठले भन्नुभयो—उपकरण भित्रिएपछि क्यान्सर उपचारका लागि बाहिरीरहेको अर्बौ रुपियाँ जोगिने छ । क्यान्सर रोगी मध्ये करिब ७० प्रतिशतलाई रेडिएसन अंकोलोजी सेवाको आवश्यकता पर्छ । नेपालमा अहिलेसम्म उपलब्ध रेडियसन सेवा प्रविधीका दृष्टिकोणले पुरानो भइसकेकाले अस्पताले खरीद गरेको यो अत्याधनिक रेडिएसन उपकरण निकै महत्वपूर्ण छ । आधुनिक सुचना प्रविधिको उपयोग गर्दै टेलिमेडिसिन, ई— मेडिसिन, स्याटलाईट क्लिनिक, मोवाईल सर्भिस जस्ता सेवाहरु प्रदान गरी उपचार पद्दतिलाई आधुनिकिकरण गरिनेछ । अस्पतालले मेडिकल अंकोलोजी (सामान्य क्यान्सर रोग तथा किमोथेरापी दिनुपर्नेहरुका लागि), सर्जिकल अंकोलोजी (शल्यक्रिया गर्नुपर्ने बिरामीहरुका लागि), गाइने अंकोलोजी (महिलाहरुका लागि), पेडियाट्रिक अंकोलोजी (बालबच्चाका लागि), युरो अंकोलोजी (मुत्र क्यान्सरका लागि), हेड एण्ड नेक अंकोलोजी (टाउको तथा घाँटीका लागि), बोन म्यारो ट्रान्सप्लान्ट (रक्त क्यान्सरका लागि) जस्ता सेवा तत्काल शुरु गर्दैछ भने रेडिएसन अंकोलोजी (रेडियो बिकीरणबाट गरिने उपचार) सेवा १ वर्षभित्र प्रदान गर्ने लक्ष्य राखेको छ । रेडिएसन अंकोलोजीअन्तर्गत अस्पतालले भारत लगायत सन्सारकै उत्कृष्ट ठानिएको आई.एम.आर.टि., आई.जि.आर.टी. (ईमेज गाईड रेडिएसन थेरापी) उपकरण प्रयोग गर्दैछ । उपरोक्त सेवाहरु सुचारु भएपश्चात् नेपालबाट क्यान्सर उपचारका लागि विदेशीन वाध्य भएका हजारौ विरामीहरुलाई राहत पुग्ने तथा देशको ठुलो धनराशी जोगिने अस्पतालका अध्यक्ष डा. सुदिप श्रेष्ठले बताउनुभयो । क्यान्सर रोग लागेका विरामीहरुको उपचारका अलावा अस्पतालले क्यान्सर रोग रोकथामका लागि गाउँगाउँमा जनचेतना मुलक कार्यक्रमहरु सञ्चालन गर्ने, विभिन्न शैक्षिक कार्यक्रमहरु सञ्चालन गर्ने, क्यान्सर रोगको उपचारका लागि नयाँ नयाँ खोज तथा अनुसन्धान गर्ने लक्ष्य लिएको छ ।

नेपालमा कूल मृत्यूको ७ प्रतिशत क्यान्सरका कारण हुने गरेको विश्व स्वास्थ्य संगठनको आँकडाले देखाउँछ । विश्वमा अहिले सबैभन्दा धेरै मान्छेलाई लाग्ने र मृत्यू हुने कारण फोक्सोको क्यान्सर देखिएको छ । यद्यपी, विश्वमा क्यान्सरबाट हुने ८० प्रतिशत मृत्यू चुरोट, बिँडी, खैनीलगायत सूर्तिजन्य पदार्थको सेवनलाई लिइन्छ । क्यान्सर लागिसकेपछि विभिन्न तहको व्याख्या र विश्लेषण गरी बिरामीको मृत्यूको दिन गन्ने प्रचलन छ । तर हामीले क्यान्सरको शुरुको अवस्था र क्यान्सर हुने संभावना भएका व्यक्तिलाई सही उपचार र जीवनशैलीमा सुधार ल्याउँदा यसको उपचार र निवारण राम्रो र संभव देखिएको छ । तर सबै क्यान्सरमा यो संभव छैन । क्यान्सर पत्ता लगाउन धेरै परीक्षण गर्नुपर्ने र व्यक्तिलाई धेरै आर्थिक भार पर्नसक्छ । विश्वमा अहिले स्तन, पाठेघरको मुखको क्यान्सर र ठूलो आन्द्राको क्यान्सरबारे शुरुको अवस्थामा स्क्रिनिङ गरेर कुनै लक्षण नदेखिँदै पत्ता लगाउन सकिने र क्यान्सर हुनबाट बचाउन सफल भएको छ । दुई दशक अघिसम्म विश्वमा पाठेघरको मुखको क्यान्सर महिलाहरुको मृत्यूको पहिलो कारण मानिन्थ्यो । तर नियमित स्क्रिनिङ (प्याप स्मियर टेस्ट) गर्ने प्रचलनका कारण विकसित राष्ट्रहरुमा यो तेस्रो स्थानमा झरेको छ ।
तर नेपालमा करिब ७० हजार विभिन्न क्यान्सर रोगी भएको अनुमान छ । हरेक वर्ष २५ हजार नयाँ रोगी थपिने गर्छन् । हाल सञ्चालनमा आएका अस्पतालहरुले २५ प्रतिशतलाई पनि सेवा दिन सकेका छैनन् । आर्थिक अभावमा विपन्न नागरिकले ज्यान गुमाइरहेको दुखद् समाचार एकातिर छ भने नेपालबाट विभिन्न मार्ग हुँदै उपचारका लागि दैनिक जाने १ सय बिरामीमध्ये १५ जना क्यान्सर रोगी भएको अनुमान गरिएको छ । प्रतिवर्ष करिब ४ हजार ५ सय क्यान्सर बिरामी उपचारका लागि विदेश जान्छन् । एकपटक विदेश जाँदा सम्बन्धित ठाउँका अस्पताललाई ३ लाख रुपियाँ बुझाउँछन् । यसैलाई आधार मान्ने हो भने बार्षिक करिब २ अर्ब रुपियाँ क्यान्सर उपचारका लागि मात्र विदेशिने गर्छ । जाने आउने खर्च, कुरुवा आदिको हिसाब गर्ने हो भने अर्बौको हिसाब किताब आउँछ ।